पोखरा,३ असार । माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलाकी वर्ष ४४ की सोममाया तामाङको आम्दानीको भरपर्दो कुनै उपाय छैन ।खोलामा बालुवा चालेर मजदुरी गरेर परिवार पाल्दै आएकी उनमा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएर दैनिक काम पाएसँगै खुशीको सीमा छैन ।
नदीमा काम गर्दा नियमित काम नपाईने, वर्खालागेसँगै काम ठप्प हुने र खेतीपाती गर्ने जमीन पनि नहुँदा घरमै फुर्सदिला दिन काढ्दै सँधै परिवार पाल्ने चिन्तामा रहने उनी असार लागेसँगै रोजगारमा आवद्ध भएपछि उनको अनुहार खुशीले उज्यालिएको छ ।
उनी भन्छिन्,‘म जस्तो काम नभएको मान्छेलाई काम पाउँदा औधी खुशी लागेको छ , नियमित कमाई हुने यस्ता कार्यक्रम पहिल्यै आएका भए कस्तो सहज हुन्थ्यो।’
गाउँकै पूर्व गाविस अध्यक्ष हर्कबहादुर घर्तीबाट कार्यक्रमको बारेमा जानकारी पाएपछि नागरिकता लिएर गाउँपालिकामा बेरोजगार दर्तामा नाम दर्ता गर्न पुगेको उनले स्मरण गरिन् । तामाङ जस्तै प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध माछापुच्छ«ेका ३६ जना बेरोजगारहरु अहिले न्यूनतम रोजगार कार्यक्रममा आवद्ध हुन पाउँदा खुशी भएका छन् । उनीहरुले सरकारले ल्याएका कार्यक्रमलाई वर्षभरीनै सञ्चालन गर्नुपर्ने समेत बताए ।
यही असार १ गतेदेखी रोजगार कार्यक्रम अन्तर्गत कामदारलाई काममा लगाईएको भएपनि आज औपचारिक रुपमा कार्यक्रम शुभारम्भ गरिएको छ । गाउँपालिका प्रमुख कर्ण गुरुङले सडक मर्मत तथा सुरक्षाका सामग्री कामदारलाई हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरे ।
बेरोजगार नागरिकलाई रोजगारको अवसर सिर्जना गर्ने उद्धेश्यले शूरु गरिएको सो कार्यक्रम अन्तर्गत पहिलो चरणमा ३६ जनालाई काममा लगाईएको रोजगार सेवा केन्द्रका संयोजक अनिल कार्कीले बताए ।
गाउँपालिकाका नौ वडाबाट गरी ६७६ जनाले न्यूनतम रोजगारमा आवद्ध हुन निर्धारित समयभित्र निवेदन दर्ता गराएका थिए ।संयोजक कार्कीका अनुसार गाउँपालिका भित्रको सडकहरुको नाली सरसफाई तथा मर्मत सम्भारको कार्यको योजना छनोट गरी उनीहरुलाई काममा लगाईएको र चालू वर्षमा ३० दिनको रोजगार दिईने छ । रोजगारी प्राप्त गरेकामा २० पुरुष र १६ महीला छन् ।
श्रमिकले दैनिक आठ घण्टाका दरले काम गर्दा उनीहरुको दैनिक ज्याला रु. ५१७ रहेको छ । एक जना श्रमिकले ३० दिनको रु. १५ हजार ५१० प्राप्त गर्ने प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए ।
रोजगार कार्यक्रमका लागि चालू आर्थिक वर्षमा गाउँपालिकालाई रु.आठ लाख बजेट प्राप्त भएकोमा रोजगार कार्यविधिमा कूल बजेटको ७० प्रतिशत श्रमिकलाई दिनुपर्ने प्रावधान रहेको छ । पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ अनुसार सडक मर्मत तथा सरसफाइको योजना छनोट गरिएको गाउँपालिका प्रमुख कर्ण गुरुङले बताए ।
उनले भने,देशको समृद्धि र विकाससँग जोडिएको यस कार्यक्रमलाई सफल बनाउनु आवश्यक छ ,गाउँपालिकाले आगामी वर्षमा सञ्चालन गर्ने योजनाहरुमा पनि रोजगारमा संलग्न हुन सूचीकृत भएका बेरोजगारहरुलाई सहभागी गराउँछौँ।’
उपप्रमुख कृष्ण दवाडीले सडक मर्मतको कार्य गर्दा सुरक्षामा ध्यान पु¥याउन आग्रह गर्दै काममा जोखिम रहेपनि आम नागरिकले सँधै प्रयोग गर्ने बाटोको काम भएकाले राम्रो काम गर्दा सँधै आर्शिबाद प्राप्त हुने उल्लेख गरिन् ।