अमेरिका । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ । गत मार्च ९ देखि सुरु भएको मृत्यु श्रृङखला ४५ दिनको विचमा आधा लाखमा पुगेको हो ।
अमेरिकामा २ हजार ५ सय को हाराहारीमा मृतक थपिने गरेका छन् । अमेरिकाको ५० राज्य मध्ये सबैभन्दा बढी न्युयोर्कमा २१ हजार मृतक पुगेका छन् । न्युयोर्क सिटीमा मात्रै १६ हजार ३ सय भन्दा बढीको मृत्यु भैसकेको छ । न्युयोर्कपछि त्यससँग सिमा जोडिएका छिमेकी राज्यमा प्रभावित छ । न्युयोर्कको छिमेकी राज्य न्युजर्सीमा ५ हजार ४ सय , मासाचुसेट्समा २ हजार ३ सय मानिसको मृत्यु भएको छ । मेसिगनमा २ हजार ९ सय, इलिनियोसमा साढे १६ सय, लुसियानामा साढे १५ सय , क्यालिफोर्नियामा १५ सय पेन्सिलभेनियामा १४ सय मानिसको मृत्यु भैसकेको छ ।
कोरोना संक्रमणबाट डेढ महिनाको अबधिमा अमेरिकामा ५० हजारको मृत्यु भएको छ भने झण्डै ९ लाख संक्रमित संख्या पुगेको छ । हालसम्म करिब ८० हजार संक्रमित निको भएका छन् । दैनिक थपिदै गएको संक्रमित र मृतक संख्या हेर्दा तत्काल यो नियन्त्रणमा आउने अनुमान गर्न सकिन्न । यसैविचमा खुल्ला गर्न लागिएको अमेरिकामा संक्रमणको दर बढ्ने भन्दा पनि भयावह हुनसक्ने तर्फ चिन्ता पनि ब्यक्त गर्न थालिएको छ । हालसम्म निको भएका झण्डै ८० हजार र ज्यान गुमाएका ५० हजार संक्रमितमा कुल संक्रमित तुलना गर्ने हो भने अझै हालसम्म पुष्टि भएका साढे ७ लाख संक्रमित बाँकी नै छन् ।
यस्तै संक्रमित संख्या पनि कहालीलाग्दो छ । अमेरिकामा कुल संक्रमित संख्या झण्डै ९ लाख पुगेको छ । यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ८ लाख ९० हजार ६ सय कटेको छ । मृतक जस्तै संक्रमित संख्यामा पनि न्युयोर्क राज्य पहिलो नम्बरमा छ । न्युयोर्क राज्यमा मात्रै संक्रमित संख्या २ लाख ७१ हजार भन्दा बढी छ । त्यसभित्र पनि न्युयोर्क सिटीमा मात्रै डेढ लाख संक्रमित छन् । न्युयार्कपछि न्युजर्सीमा एक लाख संक्रमित छन् ।
त्यस्तै मासाचुसेट्समा ४६ हजार, क्यालिफोर्नियामा ३९ हजार ५ सय, पेन्सिलभेनियामा ३८ हजार, इलिनियोसमा ३६, मेसिगनमा ३५ हजार संक्रमित छन् । त्यस्तै पर्यटकिय राज्य फ्लोरिडामा २९ हजार संक्रमित छन् । अमेरिकाको सबै राज्यमा फैलिएको यो संक्रमण दैनिक बढ्दै गएको संक्रमित र मृतक संख्या हेर्दा तत्काल रोकिने संकेत देखिदैन ।
यो भयावह अबस्थाको विचमा यहाका ब्यापार व्यवसाय पुन सञ्चालन गर्ने तयारीले त्यसपछि कस्तो बिपत्ती आउने होला भन्ने त्रास पैदा गरेको छ । हालसम्म अमेरिकामा झण्डै ८० हजार संक्रमित निको भएको तथ्यांक छ ।