गोकुल बानियाँ, पोखरा ४ माघ । आहा ! रारा गोल्डकपको १५ औं संस्करण आजदेखि पोखरामा सुरु हुदैछ । सहारा क्लब पोखराको आयोजनामा माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य सचिव डा. सोमलाल सुवेदीले उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सुदुरपश्चिम ११ स्पोर्टिङ क्लब भिड्दैछन् । आजको विजेताले माघ ८ गते युनाइटेड सिक्किम भारतसँग अन्तिम चारको लागि प्रतिश्पर्धा गर्नुपर्नेछ ।
प्रतियोगिता अन्तर्गत दोस्रो दिन अर्थात् बुधवार सशस्त्र प्रहरीको एपिएफ क्लब र धरान फुटबल क्लबविच प्रतिश्पर्धा हुनेछ । प्रतियोगितामा आयोजक सहारा क्लब, तीन विदेशी र तीन विभागिय टिम सहित १२ टिमको सहभागिता छ ।
प्रतियोगिताको फाइनल खेल माघ १५ गते हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । उपविजेतलाई दुई लाख ५१ हजार एक रुपैया नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव एबं प्रचार संयोजक केशबराज बरालले जानकारी दिए ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट गोलकिपर , डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैया नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैया प्राप्त गर्नेछ । प्रतियोगितालाई हिमश्री फुड्को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ ।
प्रतियोगिता अबलोकनको लागि गएका दर्शक मध्ये प्रत्येक दिन गोलाप्रथाबाट एक जनालाई माइक्रोम्याक्स मोवाईल प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिता अबधिभर काटिएको टिकटमध्येबाट गोलाप्रथा गरी एक जनालाई एक तोला सुनको सिक्का र एक जना दर्शकलाई एलजी टिभी प्रदान गरिने बताइएको छ ।