गोकुल बानियाँ , पोखरा २९ चैत्र । पोखराको विरौटा स्थित चोकमा तमु पहिचान सहितको मूर्ति स्थापना गरेपछि स्थानियले विरोध जनाएका छन् । सोमवार साझ तमु जातीको पहिचान झल्कने गरी तमु दम्पत्तीको प्रतिकको रुपमा मूर्ति स्थापना गरेपछि विवाद सुरु भएको हो ।
सात वर्ष अघि तमु ह्युल चोक घोषणा गरिएको सो स्थानमा तमुहरुको पर्व ट्होटेंको अवसरमा मंगलवार उद्घाटन गर्नेगरी मूर्ति स्थापना गरिएको हो । स्थानियले सवै जातजातिको पहिचान झल्कने र सवैले स्विकार्नेगरी मूर्ति स्थापना गर्नुपर्ने भन्दै विरोध गरेका हुन् । स्थानियले सो स्थानमा भगवान बुद्धको मूर्ति स्थापना गर्नुपर्ने बताएका छन् ।
तमु धि नेपालले रजत जयन्तीको अवसरमा वि सं २०६६ जेठ २४ गते सो चोकलाई तमु ह्युल चोक घोषणा गरेको थियो । तमुको पहिचान झल्कने गरी निर्माण गरिएको स्तम्भको २०६७ जेठ २७ गते तत्कालिन सभासद् देव गुरुङले उद्घाटन गरेका थिए ।
मूर्ति स्थापनापछि जातीय रुपमा झडप हुनसक्ने अवस्था आएकाले अहिले सुरक्षाकर्मी खटाइएको छ । विवादित स्थानमा नेपाल प्रहरी र शसस्त्र प्रहरीवल परिचालन गरिएको छ । मंगलवार ट्होटें पर्वको र्याली सोहि स्थानबाट सुरु गर्ने र मूर्ति पनि सोहि अवसरमा उद्घाटन गर्ने कार्यक्रम छ । स्थानियले सो मूर्ति कुनैपनि हालतमा त्यहा रहन नदिने अडान लिएका छन् ।