एजेन्सी । कृष्णसारको अबैध शिकार गरेको अभियोगमा ५ बर्षको जेल सजाय सुनाइएका वलिउड अभिनेता सलमान खान जमानतमा रिहा भएका छन् ।
सन् १९९८ मा दुर्लभ कृष्णसारको शिकार गरेको अभियोगमा विहिवार राजस्थान राज्यको जोधपुरस्थित अदालतले खानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेलसजाय सहित १० हजार जरिवाना सुनाएपनि शनिवार उनी जमानतमा रिहा भएका हुन् । दुई दिन जेलमा बसेपछि उनलाई जमानत मिलेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार जोधपुर सेसन कोर्टले उनको जमानत सदर गरेपछि स्थानीय समय अनुसार शनिवार साझ ५ बजेर ४० मिनेटमा उनी जेलबाट बाहिर निस्किएका हुन् ।
जेलबाट छुटेपछि प्रशंसकहरुका माझ खुसीको माहोल छ । सेसन कोर्टका न्यायधीश रबिन्द्र कुमार जोशीले भारतीय समयानुसार ठिक तीन बजे जमानतमा उनलाई रिहा गर्ने फैसला सुनाएका थिए । प्रतिवादीले जनावरहरुको परीक्षण र प्रत्यक्षदर्शीहरुको बयानको विश्वसनीयतामाथि प्रश्न गरेका थिए।
५२ वर्षीय खानले राजस्थानमा एउटा चलचित्र छायाङ्कनका क्रममा दुईवटा कृष्णसारहरु मारेको उक्त अदालतले फैसला गरेको थियो। उनीसँगै सोही चलचित्रमा अभिनय गरेका र शिकार गरेको आरोप लागेका अन्य चार कलाकारहरु निर्दोष ठहर भएका छन्।
जोधपुर जेलमा दुई रात बिताएका खानले उच्च अदालतमा फैसलाका विरुद्ध पुनरावेदन गर्नेछन्। न्यायाधीश रविन्द्र कुमार जोशीले जोधपुर अदालतमा उनलाई जमानत दिइएको जानकारी गराएका थिए।