पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

510
Pokhara sub metro

गोकुल बानियाँ, पोखरा २७ पुस । पोखरा उप महानगरपालिकाको २१ औं नगरपरिषद् शुक्रवार हुदैछ । संभवत उपमहानगरपालिकाको हैसियतमा अन्तिम नगरपरिषद्कोे रुपमा लिइएको यो परिषद् मार्फत आगामी आर्थिक बर्ष २०७४/७५ को लागि बजेट, नयाँ नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाका अनुसार आगामी आर्थिक बर्षको लागि झण्डै १ अर्व २८ करोडको बजेट प्रस्ताव गरिएको छ । राज्य पुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदन अनुसार पोखरा र लेखनाथलाई जोडेर बन्न लागेको पोखरा लेखनाथ महानगरपालिका नेपालकै ठूलो महानगरपालिकाको रुपमा स्थापित हुदैछ । वडा र क्षेत्रफलको आधारमा ठूलो मानिएको यो महानगरपालिकामा ३३ वडा हुनेछन् । पोखरा प्रदेश नम्बर चारको राजधानीको रुपमा समेत स्थापित हुदैछ । यो अबस्थामा पोखरा उपमहानगरपालिकाको आसन्न नगरपरिषद् मार्फत पोखरालाई स्मार्ट सिटी बनाउनेदेखि केहि महत्वपूर्ण नयाँ कार्यक्रम पनि समावेश गरिएको छ ।

ट्राफिक ब्यवस्थापनका लागि दिर्घकालमा कोत्रे विजयपुरबाट हल्लनचोक सम्म भनिएपनि हालको लागि बुद्धचोक वा चाईनापुलबाट सभागृहचोकसम्म ओभरहेड बृजको संभाब्यता अध्यन गर्न वजेट विनियोजन गरिएको कार्यकारी अधिकृत ढुङ्गानाले बताए । यसका लागि झण्डै ४० लाख रुपैया बजेट छुट्याइएको छ । पोखराको सडक ब्यवस्थापनका लागि सेती फिर्के करिडोरको डिपिआर तयार गर्न ३० लाख रुपैया बजेट विनियोजन गरिएको उनले बताए ।

त्यस्तै पृथ्बी राजमार्ग, भूपी शेरचन राजमार्ग र सिद्धार्थ राजमार्ग मार्फत पोखरा प्रवेश गर्दा वैकल्पिक बाटो प्रयोग गर्ने गरी तीन वटा रुट प्रस्ताव गरिएको छ । त्यसको अध्ययनका लागि पोखरा उपमहानगरपालिकाले लेखनाथ नगरपालिकासँगको साझेदारीमा संभाब्यता अध्ययनका लागि वजेट छुट्याएका हुन् । यसका लागि पोखराले डेढ लाख र लेखनाथ नगरपालिकाले ३० लाख रुपैया वजेट प्रस्ताव गरेका छन् ।

आगामी बर्षका लागि प्रस्तावित वजेट, नीति तथा कार्यक्रममा पोखराका सबै वडालाई एक आपसमा जोड्ने गरी सडक मार्ग पहिल्याउने, ृहत पोखराको गुरुयोजना बनाउने, अन्तराष्ट्रिय स्तरको ब्यवस्थित पार्क निर्माण, ल्याण्डफिल्ड साइडको लागि बैकल्पिक स्थानको खोजी, वायु प्रदुषण मापनको लागि यन्त्र जडान, नियमित सडक मर्मत सम्भारको लागि स्वचालित मर्मत इकाई गठन लगायतका नयाँ योजना समेटिएको छ ।

त्यस्तै पोखराको कम्तीमा तीन स्थानमा स्वच्छ पिउने पानीको ब्यवस्था गर्न रकम विनियोजन गरिएको कार्यकारी अधिकृत ढुङ्गानाले जानकारी दिए । प्रस्तावित वजेटमा ऐतिहासिक, सास्कृतिक र पर्यटकिय क्षेत्रको प्रबद्र्धनका लागि रकम विनियोजन गरिएको छ भने अहिले नगर क्षेत्रका ४० प्रतिशत मात्र करको दायरामा रहेकाले वाँकी ६० प्रतिशतलाई ल्याउन अभियान सञ्चालन गर्ने गरी वजेट छुट्याइएको छ ।

महेन्द्रगुफा, डेभिडफलको आम्दनीलाई नगरपालिका माताहात ल्याउने योजना पनि नगरपालिकाले अघि सारेको छ । साथै पार्किङ ब्यवस्थापनमा देखिएको समस्या समाधानका लागि पार्किङ सुविधायुक्त घर बनाएमा राजश्व छुट दिने नीति समेत लिइएको छ ।

‘ यो बर्ष विगतमा गर्दै आएको वाहेक यहाँको विकास र संबृद्धीसँग महत्व राख्ने केहि योजनाहरु अघि सारिएको छ ’, कार्यकारी अधिकृत ढुङ्गानाले पिसपोखरासँग भने ‘ केहि हदसम्म नागरिकले आवश्यकता महशुस गरे अनुसार , केहि स्मार्ट सिटीको अवधारण अनुसार र केहि यहाँको पर्यटन विकासको लागि आवश्यक पर्ने रणनीतिक योजनामा केन्द्रित छौ । ’

पोखरा उपमहानगरपालिकाको २१ औं नगरपरिषद् शुक्रवार उपप्रधान एबं अर्थमन्त्री कृष्ण बहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न हुदैछ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook