रामेछाप, ४ असोज । सालु गाविस वडा नं। ४ र सुनारपानी गाविसको वडा नं ६ को सिमानामा पर्ने भ्यागुरेखोला दोभानको दलदलमा फसेका एक जनाको ४२ घण्टापछि शनिवार दिउँसो सकुशल उद्धार गरिएको छ ।
मन्थलीवाट सुनारपानी हुदै सालु तर्फ पैदल हिड्दै गएका एक व्यक्ति रणजोर खोला र भ्यागुरे खोलाको दोभानवाट तर्न बिहीबार बेलुकी दलदलमा भासिएका थिए । उद्धार गरिएका व्यक्तिले नेपाली, हिन्दी र अंग्रेजी नबोल्ने र नबुझ्ने भएकाले उनी को हुन भन्ने एकीन गर्न गाह्रो भएको छ । तर उनी भारतीय नागरिक नै हुनसक्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रमेशकुमार वस्नेतले जानकारी दिए ।
उनलाई शुक्रबार बेलुकी मन्थलीबाट सालु जाने क्रममा रामेछापका स्थानिय शान्ति समितिका संयोजक शिवजी घिमिरेले भासिएको अवस्थामा देखेका थिए । त्यसपछि सालु गाविसमा रहेको प्रहरी चौकीका प्रहरी जवानहरु, स्थानीयवासिन्दा, जिल्ला प्रहरी कार्यालय मन्थली, र सशस्त्र प्रहरीसहितको टोलीले शुक्रबार बेलुकी नै घटनास्थलमा पुगी उद्धार गर्न खोजेपनि संभव भएको थिएनन ।
उद्धारमा आएका सुनारपानी गाविस ४ का चन्द्रवहादुर कार्कीले ती व्यक्ति बिहीबार बेलुकी हिलोमा भासिएको जानकारी दिए। ‘एकदम दलदले पानी सहितको हिलो माटो भएकाले जुन ठाउँमा टेक्यो त्यही ठाउँमा भासिने र खन्दै जाँदा तलवाट पानी निस्कने, माटो फालेको ठाउँ तत्कालै पुरिने भएकाले उद्धार कार्यमा समस्या भएको थियो ।
शनिवार विहान उद्धार कार्यमा पुगेको टोलीले स्थानीयवासिन्दाहरुको सहयोगमा ठाउँ ठाउँमा पानी कुलेसो वनाएर कटाउने, जम्मा भएको पानी वाल्टिनले र कचौराले फाल्ने र खन्दै माटो फाल्ने काम गर्दा शनिबार दिउँसो उनलाई सकुशल उद्धार गर्न सकिएको निमित्त प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेलले जानकारी बताए ।
ती व्यक्ति भासिएको ठाउँ एकान्त भएको, पहिला त्यो वाटो हुँदै पैदलयात्री हिड्ने गरेको भएपनि अहिलेसुनारपानीवाट सिधै सालुसम्म गाडी चल्ने भएकाले त्यो वाटो कम मात्र पैदल यात्री हिड्ने गरेका छन् । जसका कारण उनी फसेको कसैले पनि देखेनन् र बिहीबारको रात उनले दलदलमा डुबेरै विताए । अवस्था सामान्य जस्तो देखिए पनि उनको खुट्टाा सुन्निएको छ भने हिलोले छाला खाएको छ । उनलाई उपचारको लागि मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ ।