बसका सहचालकले भेट्टाएको एक लाख फिर्ता गरे

43
nepali-note

उदयपुर २३ पुस । गाईघाटमा सञ्चालन हुने एक बसका सहचालकले यात्रुले गाडीभित्रै झारेको एक लाख रुपैयाँ फिर्ता दिएका छन् । भेट्टाएको रकम फिर्ता गरेवापत उनले ३ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

उदयपुरको साउने गाविसका होमबहादुर मगरले बसेको सीटमै एकलाख रुपैयाँको बिटो छाडेका थिए । सलले पोको पारेको अवस्थामा भेटिएको सो पैसा बसका सहचालक सुरेश बिकले इमान्दारितापूर्वक हिमाली यातायात व्यवसायी संघमा बुझाएका थिए ।

संघका संरक्षक महेन्द्र राईले एक पत्रकार सम्मेलन गरी सो पैसा होमबहादुरकी श्रीमती बालकुमारी मगरलाई बुझाएको गोरखापत्र दैनिकमा उदयपुरबाट भोटराज राईले समाचार लेखेका छन् । होमबहादुरले सो पैसा गाईघाटस्थित ग्लोबल आइएमई बैंकबाट निकालेर घर लैजाने क्रममा हराएका थिए ।

आफू चढेको बसको नम्बरसमेत ख्याल नभएका होमबहादुरले रुँदै कराउँदै रकमको खोजी गर्न थालेपछि बसका कर्मचारीले पैसाको धनी पत्ता लगाएका थिए । छोरो विदेश जाँदा लागेको ऋण तिर्ने पैसा हराएपछि उनीहरु अत्तालिएका थिए ।

हराएको पैसा भेटिएपछि बालकुमारीले सहचालक बिकलाई खुशी हुँदै ३ हजार रुपैयाँ इनाम दिइन् । खोटाङ घर भएका बिक दुई वर्षदेखि बसको सहचालक छन् ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook