पर्यटकको पर्खाइमा पाल्पाको ओलेस

45
oles-4

रूद्र श्रीसमगर  । पाल्पा सदरमुकाम तानसेनबाट करिब २८ किमि दक्षिणपूर्वी भागमा अवस्थित कसेनी गाविस प्राकृतिक बनोटका हिसाबले विविधतायुक्त छ । समथर र उर्वर माडी फाँटदेखि पाल्पा जिल्लाकै अग्लो डाँडोको रूपमा मानिने कौडेलेक पनि यही गाविसमा पर्दछ । युवा साहित्यकार एवं लेखक मित्र तिलक खाम्चाको विशेष निमन्त्रणामा कसेनी–३ मा पर्ने ओलेस जाने अवसर मिलेको थियो । युवा लेखक एवं पत्रकार मित्र मनोज घर्तीमगर जी र म पोखराबाट ओलेस पुग्ने ध्येयका साथ यात्रा थालनी ग¥यौं ।

तानसेन पुगेपछि तिलक जी, मनोज जी, हुम जी र म चार जना ओलेसको बाटो लाग्यौं । मदन पोखराको सुन्दर बस्तीहरू नियाल्दै हामी कठिन र संघर्षपूर्ण यात्रामा ओलेस पुग्नैपर्ने अठोटमा थियौं । हामीलाई साथ दिने पाल्पाली साथीहरू तिलक खाम्चा र हुमबहादुर चिदी थिए । उनीहरूसँगै मोटरसाइकलमा जोखिमपूर्ण यात्रा गर्न हामी पनि मिसियौं । मोटरसाइकलको कष्टपूर्ण यात्रापछि हामी पाल्पाली मगर बस्ती ओलेस पुग्न सफल भयौं ।

समुद्री सतहबाट १४०० मिटरको उचाइमा अवस्थित ओलेस एउटा विशुद्ध मगर गाउँ हो । जहाँ ८४ घरधुरी छन्, जसमा एक घरधुरी मात्रै दलित छ । ५ सय ३६ जनसंख्या रहेको ओलेस एक रमणीय डाँडो हो । समतल्ल परेको डाँडामा मगर जातिको निकै लोभलाग्दो बस्ती छ । यहाँको मुख्य पेशा भनेको बेलायती र भारतीय सेनामा नोकरीसहित खाडी मुलुकको वैदेशिक रोजगारी हो । कृषि पेशामा पनि ओलेसका स्थानीयबासी संलग्न भएकै छन् ।

अधिकांश गाउँले कृषिमा संलग्न भएपनि छ महिनालाई मात्र खान पुग्ने अवस्था रहेको सिद्धबाबा प्राविका प्रधानाध्यापक कृष्ण राना बताउँछन् । ओलेसमा मकै, कोदो, फापर, तोरी, बर्खे आलु निकै राम्रो फल्छ । अझ आलुका लागि त झन ओलेस निकै प्रख्यात छ । भनिन्छ, ‘ओलेसमा आलु फलाउन रोप्नै पर्दैन ।’ गाउँलेले त्यहाँ हामीलाई वर्षायाममा कौडेलेकको पाखोमा नरोपिकनै आलु फल्ने कुरा सुनाए ।
ओलेसबासीको न्यानो स्वागत हाम्रा लागि निकै मिठासपूर्ण थियो नै । हामीलाई ओलेसको संस्कृतिबारे पनि जान्न मन लाग्यो ।

ओलेस गाउँमा ठूलो नाच र झ्याउरे निकै नाच्ने चलन रहेछ । अलिकति भौगोलिक अवस्थितिबारे पनि जान्न मन लाग्यो हामीलाई । ओलेसको पूर्वमा झडेवा, भरभरा, देउगे, पश्चिममा कोलडाँडा, सिलेड्डी, बेस्काङडाँडा, उत्तरमा रुप्से, भैंसीकट्टा र शिकारकोट तथा दक्षिणमा गोठादी, धामीगा, गिजनचौर र पुक्तुङ पर्दो रहेछ । ओलेसमा काला सारू, गोरा सारू, सूर्यवंशी र पाङ्मी आले, चितौरे राना, काङ्मु, घर्ती थरका मगर जातिको बसोबास रहेछ । ओलेसको नाउँ कसरी रहन गयो भन्नेमा पनि हामीलाई जिज्ञासा लाग्यो ।

स्थानीय यानसिंह घर्तीमगर ओलेसको नामबारे यसो भन्छन्, ‘ओल्च ठाउँ अर्थात पुगेको ठाउँ र ओल्हे अर्थात् फर्कने भन्ने अर्थमा यस ठाउँको नाम ओलेस रहन गएको भनाइ छ ।’ ‘खेतीपाती पहिले पहिले निकै पुग्थ्यो रे, घोडा लिएर मकै लिन आउँथे रे अन्यत्रबाट’, अर्का स्थानीय ७४ वर्षीय टेकबहादुर आले भन्छन्, ‘मान्छे खासै नहुने, मगर भाषामा मूके की ल्हेस्के भन्दाभन्दै ओलेस भएको भन्ने बुढापाकाको भनाइ छ ।’
ओलेसमा एउटा प्राथमिक विद्यालयसहित बाल विकास केन्द्र पनि रहेछ । सिद्धबाबा प्राथमिक विद्यालयमा प्रधानाध्यापक कृष्ण रानासहित जोगबहादुर जिसी, माया शर्मा र लोकबहादुर लम्तरी अध्यापन गराउँछन् । शतप्रतिशत मगर मातृभाषी विद्यार्थीहरू रहेकाले नेपाली माध्यमबाट पढाउन निकै गाह्रो भएको उनीहरूको अनुभव रहेछ ।

ओलेस घुम्न जानेका लागि मुख्य आकर्षण भनेको सिद्धबाबा मन्दिर, जल्पादेवी मन्दिर, घाँगीडाँडा, कौडेलेक, मौलादेवी मन्दिर रहेछन् । मन्दिरहरूमा आवश्यकता अनुसार सुँगुर, कुखुरा, राँगाले पूजा गरिने गुरु मनबहादुर सारूको भनाइ छ । त्यति मात्र होइन, ओलेसमा मंसिरे पूर्णिमामा निकै ठूलो मेला लाग्दो रहेछ । ठूलो दशैं र चैते दशैं तथा चण्डी पूर्णिमालाई पनि ओलेसमा विशेष मान्ने गर्दछन् । प्राकृतिक रुपले निकै मनमोहक हिमश्रृंखलासहित वरिपरिका मनोरम डाँडाहरू ओलेसबाट प्रष्टै देख्न सकिन्छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook