Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

दुई प्रेमी ५० प्रेमिका ! पोखराका ३० ठगिए

1078
girlfrn

काठमाडौं २३ पुस । झापा शनिअर्जुन घर भएका नेत्रप्रसाद गिरीले ५० भन्दा धेरै युवतीलाई प्रेमिका बनाएर ठगी गरिसकेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनले रविन केसी भन्ने पाँचथर फैलचाका रविनकुमार चिमोरियासँग मिलेर प्रेमिका बनाएर ठगी धन्दा चलाउँदै आएका थिए । सिआइबीले गत ८ पुसमा उनीहरूलाई पक्राउ गरेको छ ।

म्याग्दीकी इन्दु शर्माका श्रीमान्को दुबईमा मृत्यु भयो । श्रीमान्को मृत्युपछि उनी एक्लो जीवन बिताउँदै आएकी थिइन् । गत वर्ष उनको एक्कासि एक आकर्षक पुरुषसँग भेट भयो । गाउँकै खगेन्द्र न्यौपाने नामक भाइमार्फत भेटेका ती व्यक्तिलाई उनले चिनेकी थिइनन् । नाम थियो अभिषेक केसी । केसीले यति मीठो कुरा गरे कि पहिलो भेटमै शर्मा मोहित भइन् ।

भाइलाई वैदेशिक रोजगारमा पठाउने सिलसिलामा उनले केसीलाई भेटेकी थिइन् । खाडी देश नभई भाइलाई केसीले पोर्चुगल पठाउने आश्वासन दिए । नियमित भेट हुँदै गएपछि इन्दुलाई उनले काठमाडौं बोलाए । बिहे गरेर पोर्चुगल लिएर जाने विश्वास दिलाए । एकल महिला इन्दुलाई एक आकर्षक र धनी पुरुषले त्यस्तो प्रस्ताव राखेपछि आकर्षित हुनु स्वाभाविक थियो ।

ललितपुरको इमाडोलमा केसीले फ्लाट खोजेर राखिदिए । आफू एक ठूलो व्यवसायी भएको भ्रममा पारेर केसीले इन्दुलाई फसाएका थिए । श्रीमान्को मृत्युपछि आएको १० लाख रुपैयाँ र जग्गा धितो राखेर १६ लाख ५० हजार रुपैयाँ उनले केसीलाई दिएकी थिइन् । श्रीमान्जस्तै मानेर बिजनेसमा लगाउन भनेर उनले त्यो पैसा दिएकी थिइन् ।

करिब चार महिना उनी त्यसरी केसीसँग काठमाडौंमा बसिन् । तर, चार महिनापछि केसी एक्कासि बेपत्ता भए । धेरै दिनसम्म मोबाइल अफ भएपछि उनको चिन्ता बढ्दै गयो । केही दिनपछि मोबाइल अन हुने उनको आशा कायमै थियो । तर, महिना दिनसम्म पनि मोबाइल नखुलेपछि आफूलाई नयाँ संसार देखाउने केसी ठग भएको निष्कर्षमा उनी पुगिन् । र, उजुरी लिएर गत असारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पुगिन् । भाइलाई पोर्चुगल पठाउन र नयाँ जीवन सुरु गर्ने सपना बनाएकी उनी केसीको नक्कली प्रेममा झन् बर्बाद भइन् ।

इन्दुका भाइ पर्ने खगेन्द्रले जेलमा अभिषेकलाई चिनेका थिए । खगेन्द्र लागुऔषध मुद्दामा त अभिषेक वैदेशिक रोजगार ठगी मुद्दामा जेल परेका थिए । दुवै जना म्याग्दी कारागारमा रहेका वेला चिनजान भएको थियो । जेलमै अभिषेकले आफ्नो विदेशमा राम्रो कनेक्सन भएको भन्दै विदेश जाने मान्छे खोज्न लगाएका थिए । सोहीअुनसार गत वर्ष असोजमा जेलबाट छुटेलगत्तै अभिषेक र इन्दुको भेट भएको थियो । त्यही भेटले उनको जीवनमा थप दुःख थपियो ।

उनले उजुरी दिएको ६ महिनापछि सिआइबीले केसीलाई पक्राउ गरेको होे । पक्राउ परेपछि मात्र उनले थाहा पाइन्– अभिषेक केसी नाम गरेका युवकको वास्तविक नाम त नेत्रप्रसाद गिरी रहेछ । झापा शनिअर्जुन घर भएका गिरीले इन्दुजस्तै ५० भन्दा धेरै युवतीलाई ठगी गरिसकेको खुलेको छ । रविन केसी भन्ने पाँचथर फैलचाका रविनकुमार चिमोरियासँग मिलेर उनले यस्तो ठगी धन्दा चलाउँदै आएका थिए । सिआइबीले गत ८ पुसमा उनीहरूलाई पक्राउ गरेको हो । सुरुमा पक्राउ गर्दा एउटा मात्र उजुरी आएकोमा पक्राउ गरेपछि पीडितको संख्या दिनप्रतिदिन बढ्दै गएको सिआइबीकी एसपी मिरा चौधरीले बताइन् । प्रारम्भिक अनुसन्धानमा ५० भन्दा धेरै महिला उनीहरूबाट ठगिएको खुलेको छ । सिआइबीमा दैनिक पीडितहरूको भीड बढिरहेको छ । जसमध्ये १० जनाले सिआइबीमा जाहेरी दिइसकेका छन् । केहीले आफ्नो इज्जत जाने डरले उजुरी दिएका छैनन् । केहीलाई नेत्रले, केहीलाई रविनले त केहीलाई दुवैजना मिलेर ठगी गरेका थिए । नाटकीय शैलीमा उनीहरूले एकपछि अर्को गर्दै युवतीलाई प्रेममा फसाउँदै ठग्दै आएको प्रहरीले जनाएको छ ।

रिनासँगको नक्कली प्रेम

महोत्तरी बर्दिबासकी रिना कार्की पेसाले स्वास्थ्यकर्मी हुन् । गत असारमा उनी ललितपुरको इमाडोल बस्ने साथीको डेरामा गएकी थिइन् । सोही फ्लाटमा रविन केसीसमेत बस्दथे । साथीकै डेरामा जाने क्रममा केसीसँग उनको चिनजान भयो । त्यो चिनजान केही दिनमै बाक्लियो । रिनाको खासै राम्रो जागिर थिएन । ‘प्लान नेपालमा मेरो मान्छे छ, तिमीलाई त्यहीँ जागिर लगाइदिन्छु’ भन्दै आकर्षक जागिरको प्रस्ताव राखेपछि रिना केसीसँग आकर्षित हुँदै गइन् । अभिषेकले उनलाई फोन गर्दै भेट्न थाले । पटक–पटक रिनाको घर बर्दिबाससमेत पुगे । रिनाका बुबा छैनन् भन्ने कुरा थाहा पाएपछि आफूले सहयोग गर्ने भन्दै परिवारमा दया देखाए । भेटेको एक महिनामै रिनालाई बिहेको प्रस्ताव राखे । तर, रिनालाई केसीको गतिविधि शंकास्पद लाग्दै गएको थियो । ‘केसी र कार्की थर पनि मिलेको छ, यत्तिको केटा छाड्नुहुँदैन छोरी’ भन्दै आमाले भनेपछि रिनाले पनि उनीसँगै बिहे गर्ने सपना बुनिन् । मन जित्दै गएपछि उनले बिजनेसका लागि आकस्मिक रूपमा तीन लाख रुपैयाँ चाहिएको भन्दै पैसा मागे । आफ्नो पैसा सबै मुद्दती खातामा भएको नाटक गरेर उनले पैसा मागेका थिए । आमाले बर्दिबासबाट पैसा पठाएपछि रिनाले नै निकालेर केसीलाई दिइन् । पैसा लिएपछि उनी बेपत्ता भए । ‘सुरुमा नै यो मान्छे ठगजस्तो लागेको थियो,’ रिनाले सिआइबीमा भनिन्,‘तर आमाले कर गरेपछि विश्वास गरेकी थिएँ, विश्वासमा पर्दा दुःख पाएँ ।’ केसी पक्राउ परेपछि उनी उजुरी लिएर सिआइबी पुगेकी थिइन् ।

पोखरामा करोडौँ ठगी

पोखरामा मात्र २०–३० जनालाई उनीहरूले ठगी गरेको सिआइबीका इन्स्पेक्टर हरि बस्नेतले बताए । ‘एकै व्यक्तिलाई एक करोडभन्दा धेरै ठगी गरेकोसमेत बुझिएको छ,’ इन्स्पेक्टर बस्नेतले भने, ‘पोखराबाट धमाधम जाहेरी आइरहेका छन् ।’ त्यस्तै, लहानमा पनि धेरै महिला ठगिएको खुलेको छ । नेत्रप्रसाद छुटेको एक वर्ष मात्र भएको छ, जसमा उनीबाट ५० भन्दा धेरै महिला पीडित भएका छन् । चितवनमा प्रकाशचन्द श्रेष्ठ र गोपी दाहाललाई पनि उनीहरूले वैदेशिक रोजगार र व्यापारको लोभमा ठगी गरेका थिए । त्यस्तै, आफ्नै भाउजू पर्ने पञ्चमाया गिरीलाई भाटभटेनी सुपरमार्केटभन्दा राम्रो सपिङ सेन्टर खोल्ने भन्दै २१ लाख ४० हजार ठगी गरेका थिए । प्रकाशचन्द्र श्रेष्ठलाई अफगानिस्तान पठाउने भनेर तथा दाहाललाई खाद्यान्नको व्यापारको नाममा ठगी गरेका हुन् । पोखरामा धेरैजसो लाहुरेका श्रीमतीहरू उनीहरूबाट पीडित भएका छन् । व्यापारमा लगानी गर्ने भन्दै पैसा मागेर धेरैलाई उनीहरूले पोखरामा ठगी गरेको प्रहरीले जनाएको छ । सिआइबीमा भेटिएकी एक पीडितले भनिन्, ‘योसँग केही मोहनी हुनुपर्छ, कुरा गर्नेबित्तिकै पैसा दिऊँ दिऊँ जस्तो हुन्थ्यो ।’

पक्राउपछि रोकियो तेस्रो बिहे

उनीहरूविरुद्ध उजुरीकै क्रममा एउटा अनौठो उजुरी आयो । चितवनमा एक महिलासँग रविनको बिहेको तय भइसकेको थियो । युवतीले बिहेका लागि कपडासमेत खरिद गरिसकेकी थिइन् । तर, हुनेवाला श्रीमान् एक्कासि सम्पर्कविहीन भएपछि उनी बेचैन भइन् । पछि, पत्रिकामा उनी पक्राउ परेको समाचार आएपछि मात्र आफूलाई ठगले फसाउन लागेको उनले थाहा पाएकी थिइन् । ती युवतीसँग पनि विभिन्न बहानामा उनले पैसा लिइसकेका थिए ।

एकै दोहोरीमा तीनजना गर्लफ्रेन्ड

पछिल्लो समय उनीहरूले दोहोरी साँझ तथा डिस्कोमा काम गर्ने युवतीहरूलाई ठग्न थालेका थिए । एउटा आई–२० गाडी भाडामा लिएका थिए । आफूहरू धनी व्यक्ति भएको भन्दै भ्रममा पार्न उनीहरूले उक्त कार भाडामा लिएका थिए । रविनले नेत्र भर्खर अमेरिकाबाट आएको भन्दै युवतीहरूलाई झुक्याउने गर्दथे । दोहोरी र डान्सबारमा प्रायः न्यून आर्थिक अवस्थाका केटीहरू काम गर्ने भएकाले उनीहरू कार चढ्ने व्यक्तिसँग सजिलै प्रभावित हुन्थे । त्यहीकारण उनीहरूले पछिल्लो समय डान्सबार र दोहोरी साँझका केटीहरूलाई ठगेका थिए । बालाजुको एक दोहोरी साँझमा मात्र उनीहरूको तीनजना गर्लफ्रेन्ड रहेको खुलेको छ । तीनैजनालाई बिहे गर्ने र विदेश लैजाने भन्दै ठग्दै आएका थिए ।

डेरा पनि उनीहरू पटक–पटक सर्दथे । पछिल्लोपटक सीतापाइलामा बस्दै आएका थिए । जहाँउनीहरू हरेक दिन नयाँ–नयाँ युवती लिएर जाने गरेको छिमेकीले बताएका छन् । सीतापाइलाको सोही डेराबाट प्रहरीले म्याग्दीकी इन्दुको पासपोर्टसमेत बरामद गरेको छ ।

उनीहरूले आफूहरू दाजुभाइ भएको भन्दै नक्कली नाममा थर पनि दुवैले केसी राखेका थिए । उक्त गाडी पनि लामो समयसम्म भाडा नदिई चलाउँदै आएका थिए । सिआइबीले उनीहरूलाई पक्राउ गरेपछि मात्र धनीले गाडी फिर्ता लगेका छन् । पक्राउ परेका दुवैजना पहिला जेल परेका व्यक्ति हुन् । नेत्र वैदेशिक रोजगार ठगीमा त रविन अपहरण मुद्दामा जेल परेका हुन् । रविनले यसअघि दुईपटक अपहरण प्रयास गरेको प्रहरीले जनाएको छ । उनीहरूबीच कसरी भेट भयो भन्ने खुल्न सकेको छैन । यात्राकै क्रममा भेटेको उनीहरूले बताएका छन् ।

दुवैजनाले प्रमाण लुकाउने गरी अपराध गरेका छन् । आफ्नो नाममा कुनै पनि सिम कार्ड निकालेका थिएनन् । युवतीहरूकै नाममा सिम कार्ड निकालेका थिए । एकजना व्यक्तिसँग एउटा मात्र सिम कार्ड प्रयोग गर्दथे । ठगिसकेपछि त्यो सिम कार्ड फालिदिन्थे । त्यसकारण पनि उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई ६ महिना लागेको थियो । नयाँपत्रिका दैनिकले छापेको छ ।

पक्राउ परेका दुवैजनाको दुई–दुईवटी श्रीमती रहेकोसमेत खुलेको छ । तर, दुवैले श्रीमतीहरूलाई भने वास्ता गर्न छाडिसकेका थिए । दुवैजनाको श्रीमतीको आर्थिक अवस्था भने कमजोर रहेको प्रहरीले जनाएको छ । मोजमस्ती गर्न उनीहरूले ठगी गर्दै आएको प्रहरी अधिकारी बताउँछन् ।

गीत गाउँदै, युवती फकाउँदै, ठग्दै

पक्राउ परेकामध्ये रविन केसी उपनाम भएका ३५ वर्षीय रविनकुमार चिमोरिया लोकदोहोरी पनि गाउँछन् । मीठो स्वरमा गीत गाउने भएकाले त्यही कलाबाट उनले धेरै केटीसँग नजिकिएर ठगी गरेको सिआइबीका इन्स्पेक्टर हरि बस्नेतले बताए ।

खासगरी जेसिसका कार्यक्रम तथा पिकनिकमा जाने र आफू ठूलो मान्छे भएको भन्दै उनले प्रभावित पार्दथे । युवतीहरूलाई प्रभावित पार्ने विशेष कला उनीहरूसँग थियो । चितवनमा मात्र १० जनाभन्दा धेरै व्यक्तिलाई उनले ठगी गरेका छन् । जेसिसको एक पिकनिकमा जाँदा गीत गाएर महिलाहरूसँग नजिकिएको अनुसन्धानमा खुलेको छ ।

कसैलाई बिहेको आश्वासन दिएर त केहीलाई व्यापारको प्रलोभनमा उनले ठगी गरेका थिए । चितवनका दुई महिलाले उनीहरूबाट बर्बाद भएपछि आत्महत्याको प्रयाससमेत गरेको प्रहरीले जनाएको छ । एक महिलाले विष नै सेवन गरेकी थिइन् भने अर्की महिला नारायणी नदीमा हाम फाल्न भनेर गएर पनि फर्किएकी थिइन् । विष सेवन गरेकी महिलाको समयमै उपचार हुँदा उनको ज्यान जोगिएको थियो । सिआइबीमा पुगेकी एक महिलाले आफू हाम फाल्न नारायणीमा पुगे पनि सन्तानको मायाले फर्किएको बताएकी छिन् । गिरी र चिमोरियाका कारण धेरैका परिवार बर्बाद भएका छन् ।

प्रमाण लुकाएर ठगी

उनीहरूले पैसा पनि प्रमाण नहुने गरी विभिन्न व्यक्तिको नाममा पठाउन लगाई लिएका छन् । पक्राउ परेपछि आफूहरूविरुद्धको प्रमाण कमजोर हुने भएकाले उनीहरूले यस्तो तरिका अपनाएको प्रहरी अधिकारी बताउँछन् । पक्राउ परेपछि उनीहरूले आफूहरूले पैसा लिएको अस्वीकार गर्दै आएका छन् । केही पीडितलाई भने सबै पैसा फिर्ता गर्ने भन्दै जाहेरी नदिन फकाउने गरेका छन् । नेपालमा ठगीसम्बन्धी कानुन कमजोर भएकाले गिरी र चिमोरियाले जेलबाट छुटेपछि यस्तो धन्दा गरेको प्रहरीको भनाइ छ । त्यसरी ठगेको पैसा भने उनीहरूले क्यासिनो र दोहोरीमा उडाउने गर्दथे । गिरी रोमानिया पुगेका वेला क्यासिनोबाट पक्राउ परेका थिए । पछिल्लो समय भने उनी सिक्किमको माजोङ क्यासिनो गएर जुवा खेल्ने गरेको प्रहरीले जनाएको छ ।

यस्ता थिए ठगीका नवीन शैली

  • पैसावाल व्यक्ति सहभागी हुने कार्यक्रममा जाने, गीत गाएर तथा मिठा कुरा गरेर महिलासँग नजिकिने
  • विवाहित तथा अविवाहित युवतीलाई आफ्नो नाम–थर ढाँटेर म इन्जिनियर, व्यापारी हुँ भन्दै विभिन्न प्रभावमा पारेर आर्थिक तथा शारीरिक शोषण गर्ने
  • बिहे गर्ने वचन दिएर विश्वासमा पारी पैसा लिने, पैसा लिएपछि बेपत्ता हुने
  • डान्सबार, दोहोरी रेस्टुरेन्टमा गई आफू प्रतिष्ठित व्यक्ति भएको भ्रममा पारी युवतीलाई ठग्ने
  • बैंक तथा वित्तीय संस्थाबाट रकम प्राप्त गर्दा आफ्नो पहिचान खुल्ने कागजात राख्नुपर्नेमा झुटो समस्या देखाउँदै अन्य व्यक्तिको कागजात पेस गरी रकम झिक्ने
  • ठगी गरी जम्मा भएको रकम मोजमस्ती गर्ने र विभिन्न देशमा गई क्यासिनोमा जुवा खेल्ने

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook